Nepal Related News

Loading...

Thursday, March 26, 2009

विद्युत् संकट र काबेली-ए जलविद्युत् परियोजना

-विष्णुप्रसाद गौतम
(Published in Mero Sansar Blog on 2065 Falgun)

लोडसेडिङको बत्ती निभाइसगैं जनताका मुहार पनि निभेका छन्। सिङ्गो देश पिडाको भुमरीमा हेलिएको छ। अस्पताल, विद्यालय, क्याम्पस, संचारगृह, उद्योगधन्दा, कलकारखाना, सरकारी र निजी कार्यालय, पसलहरूमा मात्रै होइन, सडक, समाज र संस्कृतिमाथि पनि लोडसेडिङको आक्रमण साह्रै कहालीलाग्दो बनेर चढ्दो छ। दिनचर्यामा यसले पारेका प्रभावको कुरा गर्ने हो भने अब बिस्तारै अस्पतालजस्ता अति संवेदनशील अंगहरू संचालन बन्द गर्ने अवस्थामा पुगिसके; निजी टेलिभिजनहरूले प्रसारण कटौतीको घोषणा गरिसके। अरूको त कुरै छोडौं, अब त खानेपानीको वितरण समेत हुन नपाएर मान्छे पानी समेत पिउन नपाई छट्पटीले मर्ने स्थिति दृष्टिगोचर हुन थालिसक्यो। आर्थिक क्षेत्रको कुरा गर्दा यो क्षेत्र आफू मात्रै धराशायी होइन, अर्थतन्त्रका मेरुदण्ड स्वयं लगानीकर्ता, मानव संशाधन र दिमागहरू नै धराशायी हुन लागिसके। बिडम्बनाको कुरा, अर्थतन्त्र बरू धराशायी भयो भने केही मूल्य चुकाएर मर्मत गर्न सकिएला तर धराशायी दिमागहरूको मर्मत गर्नु सयौं गुणा दुरुह हुन्छ।
तर आजको यो कहालीलाग्दो अवस्था एकाएक आएको दैवी विपत्ति भने होइन। यो संकट त जानकारहरूले पटक पटक सचेत पार्दा-पार्दै पनि जन्मजात् विकासविरोधी जस्ता लाग्ने शासक, प्रशासकहरूको निकृष्ट सोच र घृणित खेलले निम्त्याइएको हो देशमा। यसमा कसको कति दोष भनेर तौलने बेला यो होइन किनभने अरूमाथि दोष थोपर्ने र आफूले सकभर जिम्मेवारी नलिने हाम्रो मौलिक संस्कार नै मुख्य दोषी हो यो विकराल स्थितिको। विकास गर्नलाई भूत सोचेर दोषारोपण गरेर मात्र हुंदैन, भूतबाट पाठ सिकेर भविष्यतिर पाइला चाल्न सक्नुपर्छ। हाम्रो सबैभन्दा टड्कारो आवश्यकता के हो भने जो सुकैले पनि विगतका गल्तीलाई ढाकछोप र प्रतिवाद गर्नुसट्टा सहजै स्विकार्ने र प्रायश्चित् गर्ने बानी विकास गर्नुपर्छ। त्यसरी नै अरूले पनि गल्ती स्विकार्नेलाई तिरस्कार होइन सम्मान गर्ने संस्कार बसाल्नुपर्छ। भने हिजो ४ वर्षमा निर्माण सकिने मध्य-मर्स्याङ्दीलाई ८ वर्ष लाग्ने स्थिति नबनाएको भए आज स्थिति यति जटिल हुने थिएन। तर अतीत त फर्कदैंन, अबको अत्यत्तम उपाय भनेको त्यस्ता गल्तीहरू मनन गरेर पश्चाताप गर्दै आइन्दा त्यस्ता गल्ती नगर्ने प्रण गर्नु हो। अब ४ वर्ष लाग्ने परियोजनालाई २ वर्षमा गरेर देखाउनु सच्चा प्रायश्चित् हुनेछ।
दोष मात्रै कोट्याउनु पनि विकासको विरोधी हुनु हो। सच्चा विकासप्रेमीले त नयाँ निर्माणतिर ध्यान र अठोट पुर्‌याउनु जरूरी छ। हिजो अरुण तेस्रो बन्नबाट बन्चित भयो। विश्व बैंकले हात झिक्यो। हिजो जसले जे सुतर्क, तर्क र कुतर्क राखेका भएपनि आज लगभग सबैलाई त्यो परियोजना गुम्ने गरी हुन पुगेको निर्णयको पछुताउ छ। हिजोका कति “कुतर्क” आज “सुतर्क” र कति “सुतर्क” आज “कुतर्क” पनि भइसके। तर पछुतोले मन कुहाएर वा आपसमा झगडा गरेर बस्नु विकासवादी सोच राख्नेलाई अशोभनीय कुरा हो। सबैले बुझ्नैपर्ने कुरा के हो भने संरचना विकास गर्न लगानीको ठूलो महत्व हुन्छ र दीर्घकालीन सोचको पनि त्यत्तिकै आवश्यकता पर्छ। साह्रै नै छोटो दृष्टिकोण राख्नेहरूको जीन्दगानी गलफत्तिमै बित्छ र केही विकास गर्न सकिन्न। लगानीको अर्को अवसरको रुपमा पछि फेरि विश्व बैंकले निजी क्षेत्रतिरबाट साना जलविद्युत् क्षेत्रमा लगानी गर्ने “ऊर्जा विकास कोष” को मोडल ल्यायो। त्यही कार्यक्रम अनुसार ३० मेगावाटको काबेली-ए परियोजना छानियो र निर्माणकर्ता छान्नलाई अन्तरराष्ट्रिय प्रतिष्पर्धा गराइयो। छानबीन भयो र बुटवल पावर कम्पनी (बिपिसी) र यसको संयुक्त टोलीले निर्माण गर्न पाउने भनी छानियो। जनता र जानकारहरूको व्यग्र प्रतीक्षा भयो अब कहिले बन्ला भनेर। यो पङ्क्तिकार परियोजना स्थल पाँचथर पुग्दा थाहा पायो जनताहरू कति अधैर्य भएर प्रतीक्षा गरिरहेका छन्। स्थानीय जनताको आवाज सुनियो- ‘काबेलीको समाचार आउला भनी रेडियो सुन्छौं’, ‘नयाँ सरकार बनेपाछि हाम्रो एउटै आशा काबेली बन्छ कि भन्ने छ’, ‘खै काबेली आउला कि भनेर विदेश नगई कुरेको हो, काम पाइन्छ कि भनेर, अब त खै आश पनि मरिसक्यो, परदेशी नै हुनुपर्ला जस्तो छ’ इत्यादि। देश र जनताको ठूलो आशा र अपेक्षा बोकेको यो परियोजना बेलैमा सम्पन्न नगरेर गम्भीर भूल हुदैं गएको प्रतीत हुन्छ।
यता बिपिसीको स्थिति बुझ्दा यो कम्पनी ‘कहिले सरकारले परियोजना विकास सम्झौता (पिडिए) गर्ला र काम शुरू गरौंला’ भनी कुरिराखेको स्थिति छ। करिब २ बर्ष अघि नै प्रारम्भिक तह, र माथिल्ला विभिन्न चरणका छानबीन पश्चात् छानिएको यो कम्पनीले त्यो सम्झौता पत्र पाउन गर्नुपर्ने कुनै प्रक्रिया बाँकी छैनन्। बाँकी छ त केवल सरकारबाट त्यो सम्झौता प्राप्त गर्नू। वास्तवमा यो सम्झौताले नै सर्वे र उत्पादन लाइसेन्स प्राप्तिको ढोका खोल्दछ। स्मरणीय छ, यस्ता लाइसेन्स कुनै पनि यो खालका परियोजनाहरूको निर्माण गर्ने कम्पनीले निर्माण प्रक्रियामा जानु अगाडि प्राप्त गरिसकेको हुनुपर्छ। कहिले मन्त्री भएन, कहिले सचिव भएन, कहिले सरकार फेरियो, कहिले चुनाव आउन लाग्यो, अनि कहिले चुनाव आयो, कहिले सरकार फेरिदैं छ, फेरि कहिले सरकार फेरियो इत्यादिको चंगुलमा करिब २ वर्ष अघिदेखि निरिह झैं बनेर ‘आज देला कि भोलि देला’ भन्दै सम्झौता कुरेको अवस्था छ। ‘नयाँ सरकार आयो, अब त पक्कै होला’ भन्ने आशा पनि त्यत्तिकै तुहिन आँटे झैं हुन लागिसक्यो। सबै कुरा र प्रक्रिया टुङ्गिएर पनि आश्चर्य लाग्दो हिसाबले फगत एउटा चिट्ठी दिन अड्केको अड्क्यै छ सरकार। त्यो भन्दा पनि उदेक लाग्दो कुरो त यो छ कि अझै पनि निर्दोष जनताका आँखामा छारो हाल्दै गफ दिन छोड्दैन सरकार ऊर्जा संकट समाधान गर्न र विद्युत् विकास गर्नमा लागिपरेको छु भनेर। आखिर के छ त्यस्तो जसले रोकेको छ यो सम्झौता गर्नलाई? न त अरू परियोजनामा जस्तो लगानी पुगेन वा दाताले पत्याएनन् भन्ने सजिलो निँहू छ यसमा। वास्त्वमा यो परियोजना विश्व बैंकको ऊर्जा विकास कोष मोडेलको पहिलो नेपाली परियोजना हो र यो परियोजनालाई परीक्षणको रूपमा लागू गर्न खोजेको हो। यसको मतलब के भने यो परियोजना सफल पार्नु भनेको दाताको मन जित्नु हो; असफल पार्नु भनेको दाताले नपत्याउने बन्नु र दाताको अगाडि विश्वास गुमाउनु हो। तसर्थ यदि साँच्चै सरकार विद्युत् विकास गर्नमा गम्भीर छ भने यो परियोजनाको सम्झौता तुरुन्त गर्नुपर्ने देखिन्छ। साँच्चै भन्ने हो भने सरकार त त्यस्तो निकाय हो जसले यो सम्झौता पश्चात् आवश्यक लाइसेन्सहरू तुरुन्त जारी गरी निर्माणकर्तालाई ‘छिटोभन्दा छिटो निर्माण गर’ भनी दवाव दिनुपर्ने र गरेन भने कारबाही पो गर्नुपर्ने हो। अब पनि केही पहल गरेको पाइएन भने सरकारको गाम्भीर्यतामा प्रश्नचिन्ह लाग्ने अनुमान सहजै गर्न सकिन्छ।

Monday, January 5, 2009

गजल: छुट्ने बेला थियो

(२०६५ साल पुस १४ गते, बुटवल पावर कम्पनी (बिपिसी) को ४३ औं वार्षिकोत्सव समारोहमा वाचन गरेको।)

छुट्ने बेला थियो आँखामा जल थियो
गला अबरुद्द थियो बोलीमा बल थियो।

हेरिरहें नजरले तिम्रो मुहार मात्रै
छन त हेर्नलाई सिङ्गो यो थल थियो।

थोरै लज्जा अनि कति मीठो बोली
आनीबानी सबै कस्तो निश्छल थियो।

शीतल छाँया थियो सानो खोला थियो
हाम्रो कुरा जस्तो पानी कलकल थियो।

मनको तलाउमा आँधी आए सरी
भेलै उर्लाउने मात्रै एक पल थियो।

छुट्ने बेला थियो आँखामा जल थियो
गला अबरुद्द थियो बोलीमा बल थियो।

गजल: बिन्ती नहेर त्यसरी

(२०६५ साल पुस १४ गते, बुटवल पावर कम्पनी (बिपिसी) को ४३ औं वार्षिकोत्सव समारोहमा वाचन गरेको।)

बिन्ती नहेर त्यसरी ज्यूँदै मरे के गरौली?
तीर फर्की मेरै सरी घाउ परे के गरौली?

उधारेर छाती नदेखाऊ भो माया यति धेरै
राख्न बिर्सेर मुटु तिम्रो मतिर सरे के गरौली?

भरेर मधुरस बोलीमा नगरौं भो कुरा धेरै
सम्झनाले पोल्दा धप्प धप्प भरे के गरौली?

एक्लो रातमा जब निन्द्रा पर्दैन छट्पटीले
थाम्न नसकी सिरानीमा आँसु झरे के गरौली?

गहनै गहनाको मूर्ति बनी अगाडि उभिंदाखेरि
ळोभ जागेर सुटुक्क त्यो दौलत हरे के गरौली?

बिन्ती नहेर त्यसरी ज्यूँदै मरे के गरौली?
तीर फर्की मेरै सरी घाउ परे के गरौली?

कविता: मेरी पार्वती हराइन्

(२०६५ साल पुस १४ गते, बुटवल पावर कम्पनी (बिपिसी) को ४३ औं वार्षिकोत्सव समारोहमा वाचन गरेको। प्रशंग: देशमा ७० घण्टा लोडसेडिङ्, नेताहरूको १० हजार मेगावाट बिजुली निकाल्ने दिवास्वप्न र बिपिसीको इन्जिनियर भएर पनि निरिह हुनुपर्दाको क्रन्दन )


हिमालय पर्वत माइती उनको
बस्ने बुकुरो कैलाशको थुम्को।
छङ्छङ् बग्ने सेता छहरामा
नुहाउँदा सूर्य बाल्थिन् मुहारमा॥

खोला नदी गन्दै बस्छन् रम्नेहरू
स्वर्गभन्दा राम्रो भन्छन् भन्‍नेहरू।
तर मेरी प्रिये छोडी कता गइन्
बस्ती निभाएर अलपै पो भइन्॥

गाँजा खाई हिजो भनेकोथें हीरा
झिकी ल्याइदिन्छु दशहजार बोरा।
गँजडी ठानेर भर परिनन् कि
नेपाली झैं गफले मख्ख परिनन् कि??

ऊर्जा देवी भन्थे सबै छिमेकीले
पुज्छौं यतै बस्नोस् भन्थे विवेकीले।
न भेटिइन् मेरो थोत्रो झुपडीमा
नलेखेकै हो कि रित्तो खोपडीमा॥

उनीलाई शक्ति मलाई शिव भन्थे
उनी थिइन् र पो महादेव गन्थे।
मेरी पार्वतीले छोडी गइन् आज
शंकर हूँ भन्न नि भयो मलाई लाज॥

Tuesday, April 8, 2008

पेट्रोलियममाथिको निर्भरता कम गर्न साइकल आन्दोलन

पेट्रोलियम पदार्थको हाहाकार र त्यसबाट उत्पन्न कहालीलाग्दो अवस्था हेर्दा लाग्दछ, देश डुब्नु र डुबाउनुको हद यहाँभन्दा पर पक्कै छैन। कतै हातगोडा बाँधेर बिनाश्रम मालामाल हुने जादूको छडीको झीनो आशाजस्तो, कतै आत्मबलको बाँध पूरै भत्काएर आशा गर्ने कुनै ठाउँ नै बाँकि नरहेजस्तो, कतै दासता जन्मजात गुण भएको ठान्दै देश डुबाउने दैत्यहरूको ताण्डव नृत्य निरीह आँखाले टुलुटुलु हेरेजस्तो, कतै जसरी सकिन्छ विदेशतिर कुलेलम ठोक्न कम्मर कसेजस्तो त कतै पूर्णतया आफूकेन्द्रित सोचले ‘म हाँस्न सकेकै छु, जनता मरे मेरो के नै गयो र?’ भन्ने सोच विद्यमान रहेको हाम्रो समाजमा कमसेकम कुनाकन्तरामा भएपनि आशावादी सोच र कर्मशील सपना पूरै मरिसकेको छैन र त तहसनहस प्राय देखिंदा-देखिंदै पनि देश प्रगतितिर उन्मुख छ भन्न सकिने परिस्थिति पनि जगजाहेर छ। बिडम्बना र संकटको माझ निकास वा समाधान निकाल्नु नै विकास हो भन्ने यथार्थलाई मनन गर्ने हो भने हामीमाझ हालैको पेट्रोलियम पदार्थको हाहाकार र उत्पन्न पिडालाई धेरै हदसम्म न्यूनिकरण गर्ने विकल्प पक्कै बाँकि छन्। यसै प्रशंगमा साइकलको चर्चा गर्नु यहाँनिर समय सान्दर्भिक देखिन्छ।
हामी सबैलाई थाहा भएकै कुरा हो, हामीले बर्षेनि कैयौं अरब रूपैयाँ पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाइ इन्धन आयात गर्न बाहिर बगाउछौं। त्यसरी बाहिरिने पैसा हाम्रो देशको कुल आयको साह्रै ठूलो हिस्सा हुन आउँछ। जसरी कमाईजति पुरै किनमेलमा खर्च भएपछि परिवारको आर्थिक हैसियत माथि उठ्दैन ठिक त्यसैगरी देशले कमाउने धन सबै खर्च भयो भने देश ऊँभो लाग्ने कुरै भएन। आयातमै निर्भर हुनुपरेकोले विश्वको अर्थतन्त्रमा हुने उतारचढावले हामीलाई पटक पटक नराम्ररी पिरलेको पनि सर्वविदितै छ। निरन्तर आकाशिदों मूल्यले एकातिर हाम्रो क्रयशक्ति छियाछिया पारेको छ भने त्योभन्दा अझ ठूलो दुर्भाग्य भन्नुपर्छ, मूल्यवृद्धिको निहुंमा हुने आगजनीले बचेखुचेको सम्पत्ति पनि खरानी पार्ने गरेको छ।
अभावमा बाँच्न बाध्य हुँदाहँदा हामी विनाशकारी काममा यति अभ्यस्त भइसकेका छौं कि हामीले के सही के गलत भन्ने सामान्य विवेक पनि पटक-पटक गुमाएको प्रतीत हुन्छ। एउटा सिङ्गो बस खरानी पार्नुले हामीलाई कत्ति पनि ग्लानि महसुस हुँदैन। हामीलाई घीन लाग्नुपर्ने हो तर लाग्दैन- यता सिङ्गो देशको एउटा बस बनाउने हैसियत छैन तर हामी भने क्षणिक रिसको वेगमा पलभरमै त्यो खरानी पार्ने दुस्साहस गर्छौं। एउटा बस जलाएर विरोध गर्नेले कहिल्यै सोचेको होला कि त्यो बनाउन कति श्रम, सिप, समय र पैसा लगानी भएको होला। त्यसरी जलाएर विरोध गर्नुसाटो त्यतिकै श्रम निर्माणमा लगाएको भए कतै हाम्रो देशको यो दयनीय हालत त हुने थिएन? विरोधको शैली के जलाएर मात्रै हुने हो र? बनाएरै विरोध गर्ने संस्कार निर्माण गर्ने तिर किन कुनै पनि विरोधका हिमायतीले ध्यान नदिने? त्यतिमात्र हो र ? त्यो हाम्रो देशमा जल्न लेखेको बस बिक्रि भएबापत त्यो निर्माण गर्ने देशले कति कमायो होला? त्यो नाफा अन्ततोगोत्त्वा हाम्रै देश गरिब बनाउदै बाहिरिएको हो। त्यसमाथि एउटा जल्नु भनेको त्यसको परिपूर्ति गर्न अर्को एक थान भित्र्याउनु पनि हो। अर्थात् अर्को एक खरिद गरेर दाम बाहिर पठाउनु हो, जुन कुरा हामीले मनन गर्नुपर्छ।
अनविकरणीय ऊर्जा हुनुको उपज पेट्रोलियम पदार्थ संसारमा सीमित मात्रै छ र केही दशकमै यसको भण्डार सकिन सक्ने अनुमान लगाइँदै पनि छ। त्यसैले पेट्रोलियम पदार्थमाथिको निर्भरतालाई सक्दो कम गर्नु हाम्रो ठूलो बुद्धिमानी हुन जान्छ। ऊर्जा र यान्त्रिक शक्तिमा पेट्रोलियम पदार्थका अरूपनि थुप्रै विकल्पहरू छन् र त्यतातिर दृश्टिगोचर गर्नु श्रेयष्कर हुनेछ।
वातावरणीय हिसाबले पनि पेट्रोलियमको उपयोग गर्नु भनेको वातावरण विनाशको कारक बन्नु हो। जोसित अरू विकल्पहरू छैनन्, तिनीहरू त्यसमा निर्भर हुनु वाध्यता हो। विकल्पहरूको बारेमा चिन्तन मनन गर्न सक्छन् तिनीहरूले। जसलाई विकल्पबारे थाहा नभएर त्यसमै निर्भर हुन्छन्, त्यो अज्ञानता हो। विकल्पहरूबारे सोधखोज गर्ने र जान्न बुझ्न खोज्ने कर्तव्य हुन्छ तिनीहरूको। अर्का एक थरि हुन्छन् जसलाई विकल्प पनि थाहा हुन्छ, तैपनि विभिन्न स्वार्थ, संकीर्णता, अहम् तथा नीरिहताले गर्दा त्यस्ता विकल्पहरू प्रयोग गर्दैनन्। ती पापी हुन्, कपटी हुन्; जो आफू र आफ्नो मुलुकको ठूलो शत्रुशिवाय केही होइनन्। यी तीनै श्रेणीमध्ये जहाँ परे पनि हामीहरूले पेट्रोलियममाथिको निर्भरता कम गर्ने-गराउने उपायबारे सोच्नै पर्ने भएको छ।
साइकल हाम्रो देशको तराईतिर ज्यादै जनप्रिय भएपनि काठमाडौंमा खासै उपयोग गरिएको पाइदैंन। साइकलको प्रयोग बढाउँदै लैजानु आजको समयको माग भएको छ। साइकलको प्रयोगले प्रथमत: पेट्रोलियम पदार्थको निर्भरता कम गर्छ। दोस्रो काठमाडौं प्रदुषणका हिसाबले विश्वमै अगाडितिर पर्ने शहर भएको छ। जतिजति साइकलले सवारी साधनको विकल्पको रूप लिन्छ, प्रदुषणको ठूलो हिस्सा स्वत: कम हुनेछ। त्यसैगरी सडकमा थाम्नै मुस्किल हुने गरी बढेको सवारी चाप घटाउन साइकल अत्यन्त सहायकसिद्द हुन्छ। जस्तो कि, एकजना मान्छेले कारमा यात्रा गर्नु भनेको एउटा कार अट्ने सडकको भाग एकजनाले ओगट्नु हो। त्यत्ति ठाउँमा साइकल भए भने करिब १० जनासम्मले यात्रा गर्न पाउने हुन्छन्। यसरी कारमा यात्रा गर्नु सडक प्रयोगका हिसाबले एकदमै अप्रभावकारी छ भने साइकलको प्रयोग गर्नु अत्यन्तै प्रभावकारी। यी सबैका अतिरिक्त साइकलले मोटरसाइकल र अरू सवारी साधनलाई उल्लेख्य रूपमा विस्थापित गर्न पाएको खण्डमा सवारी दुर्घटनामा भारी कटौती हुने अनुमान सहजै गर्न सकिन्छ। सडक क्षमताभन्दा बढी गतिमा सवारी चलाउनु नै दुर्घटनाको मुख्य कारण भएको सन्दर्भमा यो फाइदा मननयोग्य हुनसक्छ।
देशको अर्थतन्त्रमा पार्ने सानो एउटा प्रभावको कल्पना गर्नु सान्दर्भिक देखिन्छ यहाँनिर। हाम्रो देशमा चल्ने सम्पूर्ण गाडीहरू बाहिरबाट भित्रिएका हुन् भन्नुमा सायदै गल्ती हुनेछ। गाडीहरू मुख्यत: जापान, भारत, जर्मनी, चीन, कोरियाबाट आइपुग्छन् हामीकहाँ। सरदर १ गाडीको मूल्य रू १० लाख नै मान्यो र त्यसको आधाजसो देशमै रहने मान्यो भने पनि एउटा गाडी किन्दा ५ लाख रूपैंया बाहिरिने रहेछ। काठमाडौंमा करिव १ लाख गाडी छन् र औसतमा एउटाको आयु १० वर्ष मान्यो भने, प्रति वर्ष १० हजार गाडी भित्रिने रहेछन्। त्यो भनेको प्रति वर्ष हाम्रो देशले नयाँ गाडी किन्न मात्रै ५ अरब भन्दा बढी रूपैयाँ खर्च गर्ने रहेछ। सम्झनुस् हामीले आफ्नो बनाउने हैसियत नहुनुको परिणति वर्षेनि ५ अरब त गाडी किन्न मात्रै देशबाट बगाउछौं। दु:खको कुरा त के छ भने, त्योमध्ये कति त वाध्यता र आवश्यकता बापत खर्चनु पर्छ तर बाँकि भने अज्ञानता, आडम्बर र अहम्‌ताको खातिर खर्च हुन्छ। तथ्याङ्क निकाल्ने हो भने त्यो आफैमा धेरै ठूलो रकम हुनसक्छ।
अर्को प्रभाव त जगजाहेरै छ, त्यो हो पेट्रोलियमको। सुनिन्छ वर्षेनि करिब १२ अरब रूपैयाँ यसबापत बाहिरिन्छ। यसरी देशको पैसा बगाउनमा तपाईं हामीले पनि जानिदों-नजानिदों हिसाबले टेवा पुर्‍याएका हुन्छौं, कहिलेकाहीं फजूल यात्रा गरेर त कहिले गराएर समेत। १५ मिनेट हिंड्दा घटिन्छ भनेर ९ रूपैयाँ तिर्न नहिच्किचाउने यात्रा पनि धेरैजसो फजुलप्राय: नै मान्नुपर्ने हुन्छ।
तपाईंलाई लाग्ला, साइकलले कहाँ भ्याउन सकिन्छ र? यदि तपाईंलाई त्यस्तो लाग्छ भने त्यो सम्पूर्णत: सत्य होइन। गहिरिएर सोच्यो भने यकिन लगाउन सकिन्छ, काठमाडौंमा सवारी जामको कत्रो प्रभाव छ भन्ने कुरा। ३ किलोमिटर बाटो पार गर्न बस, टेम्पो वा माइक्रोबसमा आधा घण्टा लाग्नु हाम्रो निमयित दिनचर्या बन्दै छ। अझ कलंकी वा कोटेश्वरको जामको सम्झना गर्‍यो भने त काफी प्रमाण भेटिइहाल्छ। कुरो ६ किमी प्रति घण्टाकै हो भने साइकल त्यहाँनिर किमार्थ नालायक हुनेछ। अझ साइकलको बढ्दो निर्भरताले अन्य साधनको प्रयोगमा कमी आई जाम न्युनिकरण हुने संभावना त जीवितै हुनेभयो।
समयप्रति त्यति सचेत हुनुहुन्छ भने तपाई पक्कै १२ घण्टा लाइन बसेर २‌ लिटर पेट्रोल किन्न सक्नुहुन्न। हो कुरा गर्न खोजेको त्यही विषयको हो। आखिर परिस्थिति त्यस्तो कहालीलाग्दो हो भने १२ घण्टा लाइन बस्न उद्यत हुनुसाटो साइकल रोज्ने संस्कार भएको भए कस्तो हुंदो हो? हाम्रो बिडम्बना नै भन्नुपर्छ, पेट्रोल प्रतिलिटर ३०० रूपैंयामा पनि खरिद बिक्रि भयो रे काठमाडौंमा, यस्तै सुनिन्छ, तर पेट्रोलको हाहाकारले साइकलको बिक्री बढेको सायदै सुन्न पाइन्छ।
हामीकहाँ एउटा अति नराम्रो रोग छ। हामी न गाडी बनाउछौँ न मोबाइल बनाउछौं। तर यस्तो लाग्छ कसैले ती चीजमा अनभिज्ञता प्रकट गर्‍यो भने विश्वमा हामी नै संभवत सबैभन्दा अगाडि उत्रन्छौं उसको बेइज्जती गर्न। एउटा कुरा उठाउनु प्राशांगिक हुन्छ यहाँनिर। आजकाल निजी बैंकहरूको बाहुल्यता छ काठमाडौंमा। तपाईंहरू धेरैलाई याद होला तीमध्ये अधिकांशले खाता खोल्ने फर्म पनि भौचर पनि अंग्रेजीमा मात्र छापेका छन्। करिब ६५% मात्र साक्षरता भएको मुलुकमा अंग्रेजी जान्ने जमात कति सानो छ, सबैले अनुमान गर्न सक्ने कुरा हो। यस्तोमा त्यो व्यवस्था आफैमा कति हास्यास्पद छ, जो कोहीले अनुमान गर्न सक्छ। न कतै त्यो फर्म भर्ने उदाहरण छ, न कोही सहयोगी। त्यस्तोमा केही सोध्यो भने त्यहाँका अधिकारीहरूको जवाफ धेरैजसो अवस्थामा निराशाजनक वा अभद्र किसिमको हुने गर्छ। केही गल्ती भयो भने नराम्रै हप्की पनि खानुपर्छ। ए बाबा, ‘तिमीहरू गल्ती गर है’ भनेरै व्यवस्था गरेपछि गल्ती हुदैंन र? यो आडम्बर, मूर्खता वा नीरिहता जे सुकै भए पनि राम्रो कुरा पक्कै होइन, सम्बधित पक्षले बेलैमा विचार गरेमा राम्रो हुने थियो। भने, हामीकहाँ साइकल यात्रीलाई हेप्ने रोग पनि त्यसरी नै छर्लंङ्ग देखिने रोग बनेर रहेको छ। साइकलमा यात्रा गर्नेको आम गुनासो रहने गरेको छ। हेप्नेहरूमा ठूला सवारीका चालक, त्यस्ता सवारीका यात्रु तथा स्वयं ट्राफिक प्रहरीहरू प्रमुख हुन् भन्ने यत्रतत्र सुन्न-देख्न पाइन्छ। राम्ररी विश्लेषण गर्ने हो भने त हामीले सरासरी उल्टो गरेको पो देखिन आएन र? हामी बिगार्नेलाई सम्मान गर्दैछौं, र राम्रो काम गर्नेलाई पो तिरस्कार गर्दैछौं। यो के हामीले जानाजान गरिरहेका छौं वा भुलवश? एकपटक सबैले राम्ररी सोच्न विनम्र अनुरोध छ।
हामीमध्ये धेरैलाई अनौठो लाग्ने अर्को एउटा यथार्थ पस्कने कोशिस गरिन्छ यहाँनिर। हामीलाई विदितै छ जापान विश्वमा सबैभन्दा धेरै गाडी निर्माण र बिक्री गर्ने देश हो। यो कुनै आश्चर्यको कुरो रहेन। आश्चर्यको कुरो के भने विश्वमा सबैभन्दा धेरै दुरी साइकलमा यात्रा गर्नेहरू जापानी नै हुन्। पङ्क्तिकार स्वयंको यो अनुभव छ कि जापानमा केही हजार किलोमिटर मात्र चलेका टोयोटा, निशान आदि ब्राण्डका उच्चस्तरीय गाडीहरू १ लाख नेरू भन्दा कममै पाउन सकिन्छ। हामीकहाँ त्यही खालको गाडी २०-३० लाख परिहाल्छ। आर्थिक हैसियतको कुरा गर्ने हो भने जापानमा प्रति व्यक्ति आय करिब ३५,००० अमेरिकी डलरभन्दा बढी छ भने नेपालमा मुस्किलले ३०० डलर, अर्थात् हाम्रो कमाइ त्यहाँको लेखि १०० गुणा भन्दा कम। जापानीहरू गाडी बनाउँछन्, संसारलाई आपूर्ति गर्छन्, एक जनाको २-३ महिनाको कमाइले गाडी किन्न पाइने हैसियत राख्छन् र पनि विश्वकै सबैभन्दा धेरै कि मी साइकलमा यात्रा गर्ने भनी प्रसिद्ध छन्। त्यति मात्र हो र? टोकियो शहर दिउसोको जनसंख्या करिब अढाई करोड र रातिको करिब डेढ करोड हुने शहर भनेर चिनिन्छ। दिनहूं करिब एक करोडको हाराहारीमा मानिसहरू शहर भित्रिने र त्यति नै बाहिरिने गर्छन्। त्योमध्ये करिब ७३% ले रेलसेवा प्रयोग गर्छन्। पङ्क्तिकारको यो अनुभव छ कि त्यसरी रेल चढ्ने र ओर्लने स्टेशन निवासबाट औसतमा १० मिनेटको दुरीमा हुन्छन्। यसरी टोकियो शहर जादाँ र फर्कंदा दैनिक करिब ४० मिनेट हिड्नु अति सामान्य कुरा हुन्छ। सामान्यतया १० मिनेट भन्दा पनि बढी लाग्नेहरू साइकल प्रयोग गर्छन्। यति भनेपछि यो भन्दा अनौठो नलागोस् कि टोकियो विश्वविद्यालयका प्राध्यापकहरू मजाले क्याम्पसभित्र र क्याम्पसबाट स्टेशनसम्म साइकलमा यात्रा गरेको सहजै देख्न सकिन्छ। हामीकहाँ भने स्थिति नितान्त फरक छ। एउटा कार किन्न हामीलाई प्रतिव्यक्ति औसत आयको हिसाबले एक जनाको करिब ३०-४० बर्षको आम्दानी खर्चनुपर्छ। तथ्याङ्ककै हिसाबले भन्नुपर्दा त्यो भनेको के पनि हो भने एउटा टोयोटा गाडी किन्ने सोच बनाएको मान्छेले मन परिवर्तन गरेर त्यो पैसाले कसैलाई पाल्छु भन्छ भने ४० बर्षसम्म पाल्न सक्ने रहेछ। अझ त्यो पैसा कुनै विकास निर्माणमा लगाउने हो भने त त्यसको प्रतिफल कति धेरै हुन्छ कति। हाम्रो बिडम्बना यही हो कि हामीकहाँ यो यथार्थ अझै वोध हुन सकेको छैन। त्यसो वोध हुनु त कहाँ-कहाँ, साइकल चलाउनेलाई हेप्ने, हियाउने, नराम्रो नजरले हेर्ने र तुच्छ हैसियतको सम्झने कुसंस्कार विद्यमान छ। यो हाम्रो व्यक्तिगत वृति नभई सामाजिक रोग बनेको छ।
माथिका कुराहरूलाई मनन गर्दा हाम्रो सामू रहेको पहिलो चुनौती साइकलप्रतिको हाम्रो दृष्टिकोण बदल्नु हो। साथीभाइसित कहिलेकाहीं कुरा हुदाँ यो पङ्क्तिकारको अनुभव छ कि धेरै मान्छेहरू साइकल चलाउनुका फाइदाप्रति जानकार छन् तर सामाजिक अपमानकै कारण त्यसो गर्ने हिम्मत गर्दैनन्। कतै हामी विकल्पबारे फिट्टिकै नसोची अरूकै पछि लागेर चाहिनेभन्दा ठूलो समस्यामा फसेका त होइनौं? एकपटक सोचौं त, कतै हामीले हाम्रै परिवार, छिमेकी र साथीलाई साइकल चढ्नबाट निरुत्साहित त गरेका छैनौं? ठूलो बन्ने लोभमा कतै हामीहरू फजूल रूपमा गाडीप्रति आशक्त हुदैं गएका त होइनौं? आवश्यकता भन्दा पनि आडम्बरको लागि कतै हामीले गाडीमा लगानी त गरेनौं, गर्दैछैनौं? देशमा सयौं संघ, संगठनहरू छन्। विरोध गर्ने कुरामा ऐक्यवद्धता जनाउनेहरूको पनि लामै सूची सुन्न पाइन्छ। तिनैमध्ये कसैले साइकलको बिस्तारको दिशामा केही पहल र कार्यक्रम गरेमा कतै हामीले ह्वात्तै प्रगति गर्न पो सक्छौं कि? यो लेखको आशय गाडी चढ्नै नहुने र साइकल मात्रै चढ्नुपर्ने भन्ने किमार्थ होइन। तर के चाँहि अवश्य हो भने साइकललाई हेर्ने दृष्टिकोण बदल्नैपर्छ। साइकल यात्रीलाई सम्मानपूर्ण नजरले हेरिनुपर्छ। बिस्तारै-बिस्तारै साइकलको प्रयोग बढ्दै गयो र साइकलले आफूलाई सवारी साधनको एउटा विकल्पको रूपमा स्थापित गर्‍यो भने पेट्रोलियमको हाहाकारबाट पक्कै केही त्राण मिल्ने छ तथा देशको अर्थतन्त्रमा अहम् भूमिका निर्वाह हुने छ। देशलाई ऊँभो लगाउनलाई सोचमा पनि विकास गर्नु अनिवार्य छ। एकपटक सोच्न सबैमा हार्दिक अनुरोध छ।

Friday, June 22, 2007

Please Use Linux: It is Free and the Best!!

Linux is an open source, completely free and I prefer to say the best general purpose operating system. As our Kavishiromani Lekhnath Paudel says "Matti ma pani milkanchha Bhilla ka Deshma Mani", meaning approximately "even the diamond may be as valueless as soil in the nation of fools", sometimes we can't recognize what is the best. Linux is free and hence the best and some people may mistreat it as "if it is free, it must be flaky". However, if you trust me, please try to use Linux from now on!

You will be amazed entering the Linux world. Not only that, if you are a patriotic person, you will soon say that Linux helps nation building especially for countries like Nepal. On the glorious opportunity of release of Nepalinux 2, I would like to thank and congratulate Madan Puraskar Pustakalaya and all other contributors and users. I see in this the brightening face of mother Nepal. Let's promote it and make our children and our own society better connected to the IT and computer world.

Best of luck!

I especially recommend Nepalinux, Mepis, Ubuntu, Mandriva etc.

Check some of the sites as below for more information

http://distrowatch.com

http://www.linuxquestions.org

http://www.linuxtoday.com

http://www.nepalinux.org

Sunday, May 20, 2007

मेरो कविता: फूलहरू

फूलहरू

सर्वाधिकार © - रोहिणीशुक्र

लालीगुराँसको छानामुनि

बास बसेर ब्युझँदा

स्वयं सूर्य लालीगुराँस बन्छ।

तिहारको याममा

आँगनको मखमली

दाजुभाइको अनुहार बन्छ।

फूल फूल्दा धर्तीको मुहार फुट्दैन

लेख्दै गरेको बालकको कलम छुट्दैन।

पानी, हावा अनि माटोबाटै जीन्दगी उन्छन् फूलहरू,

माटोबाटै कुसुम निकाल्ने

आहा कति सुन्दर छन् फूलहरू।

फूलहरू शान्ति छर्न फूल्छन्

केही दिएर झर्न फूल्छन्।

सारा फूलबारी एक्लै हसुरेर

फूल फूल बन्न सक्तैनन्।

ईर्ष्याले मुर्मुरिएर सिङ्गो फूलबारीमा

आगो झोस्दैनन् फूलहरू

आफू लुटिन्छन् बरू

लुटाउन्नन् कहिल्यै आफ्नो फूलबारी।

माया, ममता, सुख र सहिष्णुताको

खानी बन्छ फूल

पहाडका कन्दरामा सौन्दर्यको

रानी बन्छ फूल।

कहालीलाग्दो चित्कार र कोलाहलको

भोक भेटिन्न फूलमा

धूँवा, खण्डहर र भग्नावशेषको

शोक भेटिन्न फूलमा।

आफ्नै रङमा रमाउने फूलहरू

अरूको रङमा सती जाँदैनन्।

स्वाभिमानी तर मिलनसार

आहा कति सुन्दर छन् फूलहरू।

त्यसैले त मान्छेको मनमा छाउँछन्

देवताको सभामा रमाउँछन् फूलहरू।

--------